६० प्रतिशत नेपालीका पहुँचमा इन्टरनेट |
काठमाडौं । ६० प्रतिशत नेपालीको मोबाइलसँगै हातहातमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले केन्द्रीय तथ्यांक विभागको दुई करोड ९५ लाख १४ हजार जना नेपालीलाई आधार मानेर तयार पारेको तथ्यांक अनुसार मोबाइल तथा इन्टरनेट प्रयोगकर्ता नेपालीको हिस्सा ६० प्रतिशत पुगेको छ ।
प्राधिकरणले बैशाखमा सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कुल इन्टेरनेट प्रयोगकर्तामध्ये ४६ प्रतिशत मोबाइलबाट, १.२३ प्रतिशत मात्रै ताररहित फिक्स्ड ब्रोडब्यान्डबाट र १२.१ प्रतिशतले भने तारसहिको फिक्स्ड ब्रोडव्यान्ड इन्टरनेट प्रयोग गर्ने गरेको उल्लेख छ ।प्राधिकरणको तथ्याक अनुसार इन्टरनेट चलाउने नेपाल टेलिकमका ग्राहक संख्या ८३ लाख ३५ हजार ९६० जना छन् । एनसेलबाट इन्टेरनेट चलाउने यस्तो ग्राहकको संख्या भने ६३ लाख १२ हजार १६३ जना रहको तथ्यांकमा उल्लेख छ ।
इन्टरनेट सेवा प्रदान गर्नेमा नेपाल स्मार्ट टेलिकमको एक लाख ३९ हजार २४२ मात्रै रहेको छ भने वाँकी २७ लाख ८२ हजार ५९ जना ग्राहकले भने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको इन्टरनेट सेवा उपयोग गर्ने गरेका छन् । इन्टरेनट सेवा प्रदायक संस्था वा मोबाइल सेवाबाट नेपालमा डाटाको पहुँचमा १ करोड ७५ लाख ६९ हजार ४२४ जना पुगेका छन् ।
इन्टरनेट सेवा प्रदायकको संख्या बढेको भएपनि दु्रत गतिको इन्टरनेटको सेवाको वृद्धिदर भने निकै कम छ । १ करोड ७५ लाखको इन्टरनेट पहुँचमध्ये पछिल्लो समय चौथो पुस्ताको मोवाइल इन्टरनेट फोरजी चलाउनेको संख्या जम्मा २७ लाख ९१ हजार ८१९ जना मात्रै रहेका छन् । बाँकी एक करोड सात लाख ३३ हजार ६६५ जना ग्राहकले भने थ्रीजी नै उपयोग गरिरहेका छन् ।