नागरिक लगानी कोषको ३० औ साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांस प्रस्ताव पारित
काठमाडाैं । नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस -कर सहित)- स्वीकृत गरेको हो ।
त्यसैगरी आ.व २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.थापाले कोषको कार्यक्रमहरूको थप प्रवर्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताए । कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने जानकारी दिए । संगठन तथा व्यवस्थापन -ओ एण्ड एम) गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने समेत उनले बताए ।
प्रा.डा.थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा राखे । साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञाशाहरुको बारेमा अध्यक्ष प्रा.डा.थापा र कोषका कार्यकारी निर्देशकले जवाफ दिए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे बताउँदै सेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा सुझावहरूको बारेमा विस्तृत रुपमा जानकारी गराए । कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृत्रिम बौद्धिकता -ए.आई) को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको उनले बताए । हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांस दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताए ।
साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ ।