सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन सरकार लागिपरेको छ : उद्योग मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार सेवा प्रवाहको अवस्थालाई थप प्रभावकारी बनाउने तर्फ केन्द्रित भएको बताएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभामा बोल्दै उहाँले सेवाग्राहीको फाइल कर्मचारीको टेबुलमा थन्किने स्थितिको अन्त्य गर्नुपर्ने बताए ।
उनले भने, ‘अबको सेवा प्रवाहको अवस्था जनताले तत्कालै महसुस गर्ने आधारको हुनुपर्छ । टेबुलका घर्राहरूमा फाइल रोकेर राख्ने, हस्ताक्षर गर्दा हात काँप्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रवाहलाई जबाफदेही र जिम्मेवार बनाउनुपर्छ । त्यसका लागि राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै जिम्मेवार बन्नुपर्नेछ । सरकार अहिले नीतिगत सुधारमा लागेको छ ।’
मन्त्री भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘नेपालको संविधानले खाद्य सम्प्रभुताको अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरेको छ । यस सन्दर्भमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । तर खाद्यान्न आयातमा वार्षिक करिब २ खर्ब रुपैयाँ खर्च भइरहेको छ । यो चुनौतीपूर्ण अवस्थालाई सम्बोधन गर्न हाम्रो कम्पनीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आएको छ । दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्तिको सुनिश्चितता गर्ने हाम्रो प्रमुख जिम्मेवारी हो । हाल कम्पनीले २५ जिल्लामा आफ्ना डिपो र बिक्री केन्द्रहरू मार्फत सेवा प्रदान गरिरहेको छ । आगामी वर्षभित्र यसलाई ४० जिल्लामा विस्तार गर्ने हाम्रो लक्ष्य रहेको छ । कम्पनीले व्यापारको दायरा बढाउनु पर्ने छ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित यस कम्पनीको प्रभावकारीता वृद्धि गर्दै सूचना प्रविधिको प्रयोग गरी खाद्यान्न व्यवस्थापन र वितरण प्रणालीलाई थप चुस्त र पारदर्शी बनाउनुपर्छ ।’
बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन नियमित रूपमा बफर स्टक कायम गरी आवश्यकता अनुसार बजार हस्तक्षेप गर्दै आएको मन्त्री भण्डारीको भनाई छ । खाद्य सुरक्षाको क्षेत्रमा क्षेत्रीय सहकार्य बढाउन प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले गुणस्तर र खाद्य सुरक्षाको क्षेत्रमा लिमिटेडले विशेष ध्यान दिएको बताए । उनले सबै गोदाम र प्रशोधन केन्द्रहरूमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको गुणस्तर परीक्षण प्रणाली स्थापना गरिएको बताए ।
कम्पनीको आर्थिक अवस्था क्रमशः सुदृढ हुँदै गएको उनको भनाई छ । विश्वव्यापी महामारी र जलवायु परिवर्तनको प्रभावले खाद्य सुरक्षामा नयाँ चुनौती थपिएको बताए । यसका साथै बढ्दो सहरीकरण र बदलिँदो खाद्य व्यवहारले पनि नयाँ माग र आवश्यकताहरू सिर्जना गरेको उहाँको भनाई छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सेवा क्षेत्र वृद्धि गरी सबै जनतामा सुलभ सेवा विस्तार गर्नुपर्नेमा कम्पनीका अध्यक्ष तथा मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीको भनाई छ । उनले यस कम्पनीले खाद्यान्न बाहेकका उपभोग्य बस्तुहरू समेत खरिद बिक्री गर्नुपर्नेमा जोड दिए ।