कर्मचारीलाई विद्युतीय गाडी मात्रै खरिद गर्दै प्राधिकरण, आयोजनाका लागि भने डिजेल गाडी चलाउने |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना कर्मचारीको लागि गाडी किन्नु परे विद्युतीय गाडी मात्रै किन्ने निर्णय गरेको छ ।
जलविद्युत तथा प्रसारण लाइन आयोजनाको लागि बाहेक अन्य काममा खटिने कर्मचारीको लागि नयाँ गाडी किन्नु परे विद्युतीय गाडी मात्र किन्ने निर्णय भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
आगामी आर्थिक वर्ष २०७६∕०७७ देखि प्राधिकरणले कर्मचारीको लागि गाडी किनिदिनु परे विद्युतीय गाडीको लागि मात्र भुक्तानी दिने निर्णय गरेको हो ।
कर्मचारीले डिजेल गाडी किन्न चाहेमा कर्मचारी आफैले किन्नु पर्नेछ । प्राधिकरणको आयोजना बाहेकका लागि डिजेल गाडी किन्न कुनै पनि रकम भुक्तानी नदिने निर्णय गरेको हो ।
विद्युत खपत बढाउन र विद्युतीय गाडीको प्रयोगलाई बढवा दिन प्राधिकरणले यस्तो निर्णय गरेको हो । प्राधिकरणले गत वर्ष देखिनै आफ्नो मुख्यालय रत्नपार्कमा चार्जिङ स्टेशन राखेर विद्युतीय गाडी प्रयोगका लागि प्रेरित गरिरहेको छ ।
नेपालको विद्युत उत्पादन बढेसँगै वर्षातमा बढिहुने विद्युत खपत गराउन विद्युतीय गाडीको प्रयोगमा प्राधिकरणले जोड दिदै आएको छ ।