माघ ११ देखि २० गतेसम्म विराट एक्स्पो हुँदै
मोरङ । विराटनगरमा उद्योग संगठन मोरङले विराट एक्स्पो–२०२५ आयोजना गर्ने भएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष राकेश सुरानाले माघको ११ गतेदेखि २० सम्म हुने एक्स्पोले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे।
एक्स्पोका लागि करिब ३ करोड रुपैयाँ खर्च हुने जानकारी दिँदै अध्यक्ष सुरानाले विभिन्न सात वटा थिम्याटिक सेसनसहित रोजगारी, विराट बजार बिटुबी, अटोमोबाइल्स, औद्योगिक, कृषि, कर्पोरेटलगायतका स्टल रहने उल्लेख गरे।
उनले यसपटकको एक्स्पोबाट वर्षेनी खरिद गर्नुपर्ने डोमको झन्झटबाट मुक्त भएको जानकारी दिए। उनले भने, ‘यसपटक एक्स्पोका लागि आवश्यक तीनवटा डोम करिब २ करोड रुपैयाँमा खरिद गरेका छौँ। यसले मेला, महोत्सव लगाउनका लागि आवश्यक पूर्वाधारको परिपूर्ति गर्ने विश्वास लिएका छौँ।’
पत्रकार सम्मेलनमा एक्स्पोका संयोजक भोलेश्वर दुलालले २ सय ६८ वटा स्टल रहने एक्स्पोले क्रेता सर्वसाधारणबीच आकर्षण बढाउने बताए।
नेपाली स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको एक्स्पोमा विदेशी उत्पादनसमेत प्रस्तुत हुने बताएका संयोजक दुलालले रोजगार कोशीसहित ९ वटा पवेलियनमा २ सय ६८ वटा स्टल हुने जानकारी दिए। सो क्रममा प्राविधीक तालिम लिन चाहनेहरुलाई समेत अवसर हुने एक्स्पो १० दिनसम्म हुने संयोजक दुलालको भनाइ छ।
एक्स्पोबारे जानकारी दिँदै संयोजक दुलालले एक्स्पोले डिजिटल कोशीलाई लगानी र नयाँ सोचबीच पुलको काम गर्नेमा जोड दिए। उनले उद्यमशिलताको विकास चरणलाई प्रवर्द्धन गरी उद्योग क्षेत्रलाई चलायमान बनाउन एक्स्पोले विशेष भूमिका खेल्ने बताए।