स्वाभिमान लघुवित्तको आईपीओ बाँडफाँट, १८ हजार ५५८ ले पाए १० कित्ता |
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । आइतवार विहान १० बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नारायणचौर, नक्सालमा आईपीओ बाँडफाँट भएको हो । आईपीओमा १८ हजार ५५८ आवेदकले १० कित्ता शेयर पाएका छन् । ३ लाख ८ हजार ९२८ आवेदकको हात खाली भएको छ ।
यस आईपीओमा माग भन्दा ३२ दशमलव ५७ गुणा बढी आवेदन परेको थियो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ३ लाख २७ हजार ४८६ आवेदकले ६० लाख २४ हजार ७६० कित्ताको लागि आवेदन दिएका थिए । कम्पनीले वैशाख २७ देखि ३१ गतेसम्म सर्बसाधारणका लागि १ लाख ८५ हजार ५८७ कित्ता आईपीओ विक्री गरेको हो ।
कम्पनीले कुल १ लाख ९८ हजार ६१० कित्ता आईपीओ मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारी, ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १ लाख ८५ हजार ५८७ कित्ता शेयर सर्वसाधारणको लागि जारी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी रू. ४ करोड २० लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात पूँजी रू. ६ करोड १८ लाख पुग्नेछ ।