एनपीएलमा प्रहार चौका बापत एनसेल फाउन्डेसनले २६ सय बढी शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौं । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा प्रहार भएका चौका बापत २ हजार ६ सय बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
फाउन्डेसनले एनपीएलमा हानिने प्रत्येक चौका बापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार शैक्षिक सामग्री वितरण गर्ने फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले वितरण गर्ने शैक्षिक सामग्रीहरू ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिने छ ।
शनिबार सम्पन्न भएको एनपीएलमा कुल ६५३ चौका प्रहार भएको फाउन्डेसनले जनाएको छ । घोषणा गरे अनुसार कुल २ हजार ६१२ वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरिने छ ।