काठमाडौं मोडेल माविको रजत जयन्तीमा ‘मिनी म्याराथन’
काठमाडौं । काठमाडौं मोडेल माध्यमिक विद्यालयले स्थापनाको २५औं वर्षलाई रजत महोत्सवका रूपमा भव्यतापूर्वक मनाएको छ । विद्यालयले २९ मंसिरमा औपचारिक कार्यक्रको आयोजना गरी रजत जयन्ती मनाएको हो ।
सो अवसरमा विद्यालयले ६.३ किलोमिटर दूरीको मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको थियो । उक्त दौडमा ३ हजार ५ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो । म्याराथन प्रतियोगितामा राष्ट्रिय म्याराथन धावक बैकुण्ठ मानन्धरको समेत उपस्थिति रहेको थियो ।
म्याराथन दौडमा छात्रतर्फ अभिषेख मगर प्रथम, सुदिप थपलिया द्वितीय र निराजन पुन तृतीय भएका थिए भने छात्रातर्फ निकिता कुँवर प्रथम, कृष्टिना कतिला द्वितीय र निर्मला वि.क. तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।
दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, पाँच हजार र तीन हजार रुपैयाँका दरले नगद पुरस्कार मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
१० औं स्थानसम्म प्राप्त गर्न सफल भएका धावकलाई पनि नगद पुरस्कार र प्रमाण–पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय म्याराथन धावक मानन्धरले राष्ट्र निर्माण गर्नका लागि युवाशक्तिमा संकल्प हुनुपर्ने बताए ।
हाल देशमा देखा परिरहेको युवायुवतीको विदेश पलायनले राष्ट्र नै पलायन हुन सक्ने बताउँदै देश बनाउनका लागि यही माटोमा कर्म गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामेश्वर अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य डा. नगेन्द्रबहादुर अर्यालले रजत उत्सवका अवसरमा विद्यालयले वर्षभरि सञ्चालन गर्ने कार्यक्रमबारे घोषणा गरेका थिए ।