परराष्ट्रमन्त्री देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गरेका छन् ।
बेल्जियमको ब्रसेल्समा बिहीबार भएको भेटका क्रममा नेपाल-ईयू सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारी बारेमा कुराकानी भएको थियो ।
नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्ष मनाइरहेको बारेमा उनीहरूबीच कुराकानी भएको हो। नेपाल र युरोपियन युनियनबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
नेपाल सदैव प्रजातन्त्र, कानूनी शासन र मानवअधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री डा देउवाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गरिन् । युरोपियन युनियन नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको स्मरण गर्दै मन्त्री डा देउवाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद समेत भनिन् ।
भेटमा परराष्ट्रमन्त्री डा देउवाले नेपालका तर्फबाट आफूले केही दिनमात्र अघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको स्मरण गरिन् ।
मन्त्री डा देउवाले कमिसनर ओपकेलाई नेपालमा परेको जलवायु परिवर्तनको असर तथा पछिल्ला वर्षहरूमा यसबाट नेपालले व्यहोर्नुपरिरहेको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा युरोपियन युनियनसँग सहयोगको अपिल गरिन् ।