आजदेखि बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन खुला
काठमाडौं । आज मंसिर २७ गते बिहीबारदेखि बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । यस कम्पनीले १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यस कम्पनीले उक्त हकप्रद सेयरको लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यस हकप्रद सेयरलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गरेको छ ।
यसमा लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।