नेपाल म्याजिक एसोसिएसनले गर्यो विद्यालयलाई सहयोग |
काठमाडौँ । नेपाल म्याजिक एसोसिएसनले हालै सिन्धुपाल्चोक जिल्लाको एक विद्यालयलाई ५० हजार रुपैयाँबराबरको संगीतका उपकरण र खेलकुदका सामग्रीहरू सहयोगस्वरुप प्रदान गरेको छ । संस्थाले सो जिल्लाको थाङ्पाल गाउँपालिका– ५, गुन्सास्थित कुम्भेश्वरी प्राथमिक विद्यालयलाई उक्त ती सामग्री हस्तान्तरण गरेको हो ।
उक्त संस्थाले हालै आफ्नो पहिलो च्यारिटी शोको आयोजना थाङ्पाल गाउँपालिकामा गरेको थियो । संस्थाले प्रदर्शनी गरेको ‘प्रोजेक्ट खुशी’ नामको उक्त च्यारिटी शो गाउँपालिकाका चारवटा विद्यालय र विभिन्न चोकमा प्रदर्शनी गरेको हो । उक्त च्यारिटी शोबाट झण्डै ५० हजार रुपैयाँ संकलन भएकोमा सबै रकमले संगीतका उपकरणहरू र खेलकुदका सामग्री खरिद गरी उक्त विद्यालयलाई प्रदान गरेको संस्थाका अध्यक्ष सुरज महर्जनले जानकारी दिए ।
उनले भने, ‘हामीले ‘च्यारिटी शो’ बाट संकलन भएको रकमले विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूका लागि संगीत र खेलकुदमा सहयोग पुगोस् भन्ने उद्देश्यले ती सामग्री खरिद गरेर सहयोगस्वरुप प्रदान गरेका हौँ ।’
च्यारिटी शोमा संस्थाका अध्यक्ष महर्जन, सचिव निरञ्जन सिंह र उपसचिव निश्चल गौतमले आफ्नो कलात्मक जादू देखाएका थिए । संस्थाका अध्यक्ष महर्जनले अब छिट्टै नै यस्ताखाले कार्यक्रम लिएर लमजुङ पनि जाने जानकारी दिए ।
विद्यालय जान नमान्ने साना बालबालिकाहरूलाई विद्यालय जान जादूको माध्यमबाट प्रोत्साहित गर्ने उद्देश्यले स्थापना भएको हो ।