सिटिजन्स बैंकको अगुवाइमा ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक र सानिमा बैंकसहित ४ बैंकहरुले ६ अर्ब १५ करोड रूपैयाँ ऋण लगानी गर्नेगरी ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना आउने भएको छ।
आज मिति २०८१ मंसिर २४ गते सोमबारको दिन प्रवर्द्धक कम्पनी गुराँस हाइड्रो लिमिटेड एवं लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ।
उक्त परियोजना संखुवासभाको सिलिचोङ गाँउपालिका र भोजपुरको साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ। परियोजनाको अनुमानित लागत करिब ८ अर्ब २० करोड रूपैयाँमध्ये बैंकहरुले ७५:२५ को ऋण:स्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड रूपैयाँ बराबरको ऋण लगानी गर्नेछन्। यसमध्ये सिटिजन्स बैंकबाट २ अर्ब ९० करोड, एभरेष्टबाट १ अर्ब २५ करोड, नेपाल एसबिआईकबाट १ अर्ब २५ करोड र सानिमा बैंकबाट ७५ करोड रूपैयाँ लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइने छ।
परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्नपश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभास्थित सित्तलपाटी सबस्टेशनमा जोडिने छ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घण्टा र वर्षायाममा १६५.८८८ गिगावाट गरी वार्षिक २४०.९२९ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ।
सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापना कालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाइ, सहअगुवाइ तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जामार्फत जलविद्युतलगायत हरित ऊर्जा क्षेत्रमा उल्लेख्यरुपमा लगानी गर्दै आएको र बैंकिङ क्षेत्र एवं स्वतन्त्र ऊर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भइ सञ्चालनमा आएका कारण देशको समग्र ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए।
हालसम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधीन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजनासहित जम्मा ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ।
सिटिजन्स बैंकले हालसम्म १५ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको जनाएको छ।
प्रवर्द्धक कम्पनी गुराँस हाइड्रो लिमिटेडका अध्यक्ष शिवप्रसाद घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताए। साथै उनले हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी सकिएकोले आयोजना तत्काल निर्माण सुरु गरी समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।
सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।