रवि लामिछानेमाथि सरकारले निरंकुश र अमानवीय व्यवहार गर्यो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरंकुश र अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले लेखेका छन् ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।’
गत बुधबार लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै पछिल्लो समय सरकारको आलोचना भइरहेको छ । यस्तै, रविले पनि आफू अस्वस्थ हुँदाहुँदै प्रहरीले रातारात चितवनबाट पोखरा लगेकोमा आपत्ति जनाएका थिए ।