ईभी ब्रान्ड दिपल बन्यो ‘सोनु निगम लाइभ इन नेपाल’ को मुख्य प्रायोजक
काठमाडौं । ईभी ब्रान्ड दिपल आगामी १० पुस (२५ डिसेम्बर) मा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ को मुख्य प्रायोजक बन्ने भएको छ ।
कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतीक्षित कन्सर्टको मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।
नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको उक्त कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दिप क्षेत्री पनि सहभागी थिए ।
कार्यक्रममा सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविश्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेजेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।
त्यसैगरी नेपाली टच इभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरसिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए ।
बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसंगीतबाट भरपुर मजा दिने अपेक्षा दिपलले गरेको छ । यो कन्सर्टको टिकट इसेवामा उपलब्ध हुनेछ ।