एलआइसी नेपालको हकप्रद सेयरमा आवेदन दिने समय थप
काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले आज पुस २ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो ।
लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले मंसिर १२ गतेदेखि १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । यसले १ सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
उक्त हकप्रद सेयरका लागि एलआइसी नेपालले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ ।
यस हकप्रदमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ र लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको स्टार मल, पुतलीसडक काठमाडौं तथा देशभरका देशभरका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।