एनसेललाई आईएसओ २७००१ र २७७०१ को मान्यता
काठमाडौं । एनसेलले प्रतिष्ठित आईएसओ २७००१:२०२२ (आईएसएमएस) र २७७०१:२०१९ (पीआईएमएस) को मान्यता पाएको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको र ग्राहकको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ ।
यस उपलब्धिसँगै एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको कम्पनीको दाबी छ । जसले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
एनसेलको विश्वसनीयता र सूचना सुरक्षालाई अझ सुदृढ बनाउँदै कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्ले यी मान्यताहरु प्राप्त गरेका हुन् ।
‘यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुङ्गा हो । यसले एनसेल निरन्तर सुधार र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधै समर्पित रहेको स्पष्ट पार्दछ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
यस उपलब्धिले टेलिकम उद्योगमा उत्कृष्टताप्रति कम्पनको प्रतिबद्धतालाई उजागर गरेको उनको भनाइ छ ।
यी मान्यताहरू ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्मा गोपनीयता सुनिश्चित गर्ने अभ्यासमा एनसेलले उच्चतम मापदण्डहरू पूरा गरेको प्रमाण भएको उनले बताए ।
कम्पनीका अनुसार ग्राहक र साझेदारहरूका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आईएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ । त्यसैगरी आईएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्र्तराष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ ।