अनलाइन गोपनीयता चोरीबाट कसरी बच्ने ?

सुरक्षाका लागि पाँच सुझाव

अनलाइन गोपनीयता चोरीबाट कसरी बच्ने ?
तपाईंलाई साइबर निगरानीको बारेमा कत्तिको थाहा छ ? आफ्नो हरेक अनलाइन गतिविधिमाथि कसैले लगातार निगरानी गरिरहेको छ भन्ने थाहा पाउँदा तपाईंलाई कस्तो लाग्ला ? त्यतिबेला शायद तपाईं चिन्तित हुनुहुनेछ । 
 
तपाईं विश्वको जुनसुकै भूगोल, वर्ग र पेशाको भए पनि तपाईंबारे इण्टरनेटको अनलाइन दुनियाँबाट व्यापक रूपले ‘माइनिङ’ तथा ‘स्पेइङ’ भइरहेको हुन्छ । अहिले हरेक व्यक्तिको साइबर गतिविधिबारे धेरै देश, जासुुसी संस्था तथा व्यावसायिक कम्पनी र व्यक्तिगत तहबाट समेत व्यापक निगरानी हुने गरेको छ । निगरानीको क्रम निरन्तर बढिरहेको छ ।   
 
 
एण्टी टेरोरिज्म र एण्टी इण्टलिजेन्सियाको नाममा संस्थागत निगरानीदेखि आपराधिक वा व्यावसायिक फाइदाका लागि भइरहेका गोपनीयताको चोरीले तपाईंको अधिकार र व्यक्तिगत सुरक्षा दुवैमा आँच पु¥याइरहेको हुन्छ । चोरी भइरहेका निजत्वको प्रयोग व्यावसायिक तथा सुरक्षालगायतका क्षेत्रहरूमा हुने गर्छ । आपराधिक व्यक्तिले त्यस्तो जानकारीलाई चोरी, ठगी, अपहरण र हत्याजस्ता आपराधिक काममा प्रयोग गर्ने क्रम पनि उत्तिकै बढिरहेको छ । यस्तै खालका चोरी तथा त्यसको जोखीमबाट बच्ने उपायबारे यहाँ चर्चा गरिएको छ  ।  
 
पासवर्ड
 
आफ्नो ईमेल तथा अन्य अनलाइन एकाउण्टको पासवर्ड कम्तीमा पनि महीनामा एकपटक परिवर्तन गर्ने गर्नुपर्छ । साइबर दुनियाँका लागि पासवर्ड नै सबैभन्दा महत्वपूर्ण वस्तु हो । यदि तपाईंको एकाउण्टका पासवर्ड आपराधिक व्यक्तिले थाहा पाए भने तपाईंको जीवनका विविध पक्षमा उनीहरूले पहुँच विस्तार गर्नेछन्, जसबाट तपाईंको आर्थिक तथा भौतिक सम्पत्ति र जीवनकै जोखीम हुन सक्छ । त्यसैले, पासवर्ड तथा एकाउण्टको सुरक्षा संवेदनशीलतामा अत्यन्त सचेत रहनुपर्छ । यसको सरल उपाय बेलाबेलामा पासवर्ड परिवर्तन गरिरहनु नै हो ।  
 
चेकआउटमा गलत ठेगाना
 
तपाईं कुनै स्टोरबाट सामान किन्दै हुनुहुन्छ वा अनलाइन शपिङ तथा ईसेवा लिँदै हुनुहुन्छ भने त्यो विक्रेता वा सेवाप्रदायकले हरेकपटक तपाईंलाई जिप कोड वा फोन नम्बर माग्न सक्छन् । उनीहरू तपाईंको सम्पर्क ठेगानामा पहँुच पाउन सधैं प्रयासरत हुन्छन् । त्यस्तोमा यदि तपाईंले आफ्नो जिप कोड, फोन नम्बर वा वास्तविक ईमेल ठेगाना दिनुभयो भने उसको डाटाबेसमा तपाईं दर्ता हुनुहुनेछ । त्यस्तो सम्पर्क सूत्रको सहयोगमा उनीहरूले तपाईंका धेरै व्यक्तिगत जानकारी सजिलै हत्याउनेछन् । यसपछि तपाईंलाई सामान बेच्नेदेखि, ठगी र अन्य आपराधिक काममा समेत प्रयोग गर्न सक्नेछन् । गोपनीयता उल्लङ्घनका पछिल्ला तथ्याङ्कले पनि यस्ता कम्पनीहरू व्यक्तिगत सूचनाको सुरक्षामा गैरजिम्मेवार बन्ने गरेको देखाएका छन् । अहिले त व्यक्तिगत सूचनाका सङ्ग्रहको संस्थागत स्तरमै किनबेचसमेत हुने गर्छ । त्यसैले, यस्तोमा सकेसम्म वास्तविक जानकारी कम दिनु उत्तम हुन्छ । 
 
परिचयपत्रको सुरक्षा 
 
फोटोसहितको परिचयपत्र देखाउनुपर्ने अवस्थामा आफ्नो सवारीचालक लाइसेन्स, पासपोर्ट वा अन्य संवेदनशील खालका कुनै पनि परिचयपत्रको गोपनीयताको सुरक्षामा ध्यान दिनुपर्छ । यो गोपनीयताको सामान्य नियमै हो । कहिल्यै पनि आवश्यकभन्दा धेरै जानकारी नदिनु नै सुरक्षाको उत्तम उपाय हो । यस्ता परिचयपत्रमा तपाईंको जन्ममिति र ठेगानाजस्ता जानकारी हुने भएकाले आपराधिक काममा समेत त्यसको प्रयोग हुन सक्ने सम्भावना रहन्छ । 
 
नो बैङ्किङ एप्स 
 
बैङ्क खाताबारे सूचना निकै संवेदनशील हुन्छ । अनलाइनको दुनियाँमा सबैभन्दा बढी सुरक्षा खतरा रहेको वस्तु नै बैङ्क खाता हो । त्यसैले, यस्तो सूचना कसैलाई पनि दिनु हुन्न । क्रेडिट कार्डहरूमा केही हदसम्म फ्रड पोटेक्शन हुने भए तापनि चल्ती तथा बचत खातामा भने खासै बलियो सुरक्षा उपाय अपनाइएको हुँदैन । अनलाइन बैङ्किङ तथा शपिङ एकै कम्प्युटरबाट गरिरहनुभएको छ भने तपाईंको पैसामा अरू कसैले पञ्जा फैलाउन सक्ने खतरा छ । त्यसैले, अनलाइन बैङ्किङ कारोबार गर्दा होशियार हुनुपर्छ । मोबाइल बैङ्किङ थप असुरक्षित छ । मोबाइलका एप्सहरूबाटै बैङ्किङ जानकारीको चोरी भइरहेको पनि हुन सक्छ । मालवेयर प्रोटेक्शनको दृष्टिकोणले मोबाइल खासै सुरक्षित हुँदैन । 
 
जङ्क ईमेल ठेगाना 
 
अनलाइनको दुनियाँमा तपाईंले थुप्रैपटक ईमेल ठेगाना भर्नुपर्ने हुन सक्छ । त्यसैगरी विभिन्न कम्पनी तथा सेवाप्रदायकले पनि तपाईंसँग इमेल ठेगाना माग्न सक्छन् । यस्तोमा जङ्क ईमेल ठेगानाको प्रयोग गर्नु राम्रो हुन्छ । यसो गर्दा जङ्क ईमेल ठेगाना ह्याक भए पनि वास्तविक ठेगाना सुरक्षित रहनेछ । साथै, स्पाम र विज्ञापनका मेलबाट पनि बच्नुहुनेछ । 
 
 
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय