अनलाइन कक्षादेखि परीक्षासम्मको लागि सफ्टवेयर

अनलाइन कक्षादेखि परीक्षासम्मको लागि सफ्टवेयर

काठमाडौं । लकडाउनले गर्दा नेपालमा अनलाईन कक्षाको चर्चा खुबै चुलियो। विभिन्न विद्यालयहरुले चल्तीका सामाजिक संजालमार्फत पढाउन समेत सुरु गरे ।

यस्तै समस्या समाधान गर्न स्किम इन्टरनेशनल टेक्नोलोजीले अनलाइन कक्षा र परीक्षा सञ्चालनसम्बन्धी सफ्टवेयर सार्वजनिक गरेको छ । लकडाउनमा कक्षा र परीक्षा सञ्चालन हुन नसकेको बेला शैक्षिक संस्थाका लागि सहयोगी माध्यम बनोस भनी सफ्टवेयर जडान गर्ने प्रविधि सञ्चालनमा ल्याइएको उक्त टेक्नोलोजीले जनाएको छ ।

विद्यालय व्यवस्थापन, अनलाइन कक्षा र परीक्षाका लागि यो सफ्टवेयर महत्वपूर्ण हुने दाबी टेक्नोलोजीले गरिरहेको छ । निजी क्षेत्रबाट भएको यो प्रयासले केही हदसम्म हाल समस्या परेका विद्यार्थीलाई सहयोग पुग्ने टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अभिषेक शिवाकोटीले जानकारी दिए ।

यो सेवा लिन चाहने सरकारी विद्यालय तथा तीनै तहका सरकारसँग साझेदारीमा कार्यक्रम सञ्चालनको प्रस्ताव गरिएको टेक्नोलोजीले जनाएको छ । सरकारी–निजी साझेदारी योजनाअनुसार ५० प्रतिशत छुटमा यो सेवा विस्तारको योजना ल्याइएको शिवाकोटीले बताए। सेवा केही अवधिका लागि निजी शैक्षिक संस्थालाई पनि छुट दिएर देशभर विस्तार गर्ने योजना रहेको उनले बताए ।

सफ्टवेयरमार्फत घरमै बसेर कक्षा र परीक्षा लिन मिल्ने छ भने विद्यार्थी तथा शिक्षकको हाजिरी समेत लिन मिल्ने शिवाकोटीले बताए । यसका साथै पाठ्यक्रम तयार पार्न, विद्यार्थी तथा शिक्षकको मूल्याङ्कन गर्न, भिडियो तथा अडियो सन्देशहरू पठाउन पनि सफ्टवेयर सहयोगी बन्ने उनले बताए ।
२ सय ५० भन्दा बढी सुविधा सफ्टवेयरमा भएको टेक्नोलोजीका सञ्चालक अन्जन अधिकारीले दाबी गरे ।

सफ्टवेयरमार्फत विद्यार्थी शूल्क, तलबलगायत अन्य हिसाब–किताब राख्न सकिने बताए। नियामक निकायलाई नियमन गर्न सजिलो हुने भएकाले यसमार्फत ४० भन्दा धेरै प्रकारका रिपोर्ट निकाल्न सकिने उनको दाबी छ ।

आगन्तुकहरूको फोटोसहितको विवरणसमेत सफ्टवेयरमार्फत राख्न सकिने उनले बताए । विद्यालय व्यवस्थापनमा सम्पूर्ण सूचना व्यवस्थापन, विद्यार्थी, अविभावक तथा शिक्षकका लागि छुट्टै लग–इन गर्न मिल्ने उनले बताए। अनलाइन परीक्षा, गृहकार्य व्यवस्थापन, परिचयपत्र, (प्रवेशपत्र) तथा नतिजा कार्ड सिस्टमबाटै हेर्न सकिने र प्रिन्ट गर्न सकिने उनले बताए ।

एसएमएस तथा इमेल सुविधा, म्यासेजिङ सिस्टम, बिदा लगायतको जानकारी सिस्टममै दिन सकिने, सफ्टवेयर लामो समयसम्म नवीकरण गर्न नपर्ने अधिकारीको दाबी छ ।
कुनै विद्यालयले यो सफ्टवेयर प्रयोग गर्न चाहेमा कम्पनीले डोमेन बनाइदिने छ र त्यही डोमेन मार्फत कक्षा संचालन गर्न सकिने छ। त्यस्तै यो सफ्टवेयर प्रयोग गरेवापत शैक्षिक संस्थाले एक जना विद्यार्थीको १ महिनाको २५ रुपैयाँ तिर्नुपर्ने छ भने १ वर्षको सम्झौता गरे २५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ ।

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय