नेपाल, माल्दिम्भ र श्रीलंकाका लागि विश्व बैङ्कद्वारा नयाँ राष्ट्रिय निर्देशक नियुक्त

नेपाल, माल्दिम्भ र श्रीलंकाका लागि विश्व बैङ्कद्वारा नयाँ राष्ट्रिय निर्देशक नियुक्त
काठमाडौं । विश्व बैङ्कले माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । अमेरिकी नागरिक फारिस हदाद जर्भोस माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैङ्कको नयाँ राष्ट्रिय निर्देशकमा नियुक्त भएका छन् ।
 
उनको नियुक्ती आजबाट नै लागू भएको विश्व बैंकको नेपालस्थित कार्यालयले जानकारी गराएको छ । तीन मुलुकका लागि नियुक्त भएका उनको कार्यालय भने काठमाडौंमा रहन्छ ।
 
काठमाडौं विश्व बैंकको उप–क्षेत्रीय कार्यालय समेत हो । उनले विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब  ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमको नेतृत्व गर्नेछन् ।
 
यसअघि यी तीन मुलुकका लागि राष्ट्रिय निर्देशकको पदमा आइडा जेड. पस्वराई रिद्धीहो थिइन् । उनको विश्व बैंकमा नयाँ जिम्मेवारीमा नियुक्ती भएको विश्व बैंकले जनाएको छ ।
 
नयाँ राष्ट्रिय निर्देशक हदाद जर्भोस भने यसअघि नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक पदमा कार्यरत थिए । जर्भोस सन् १९९६ (वि सं २०५२) देखि विश्व बैंकसँग आबद्ध छन् ।
 
उनले यसअघि मलेसिया र बोलिभियामा समेत राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसकेका छन् । उनीसँग खाडी सहकार्य राष्ट्रहरूमा प्राविधिक सहकार्य प्रबन्धक, इराकमा मिसन प्रमुख, वेष्ट बैंक र गाजा क्षेत्रमा सन्चालन प्रबन्धकका रूपमा काम गरेको अनुभव छ ।
 
कोभिड १९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालीन असर सम्बोधन गर्न तीन वटै देशले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेको अवस्थामा उनको नियुक्ति भएको हो ।
 
देशहरूले कोभिड १९ संकटका विरूद्ध जुध्दै गर्दा जनजीवन र जनजीविकाको संरक्षण गर्दै आर्थिक सुघार र पुनर्स्थापना गर्नु सबैभन्दा महत्वपूर्ण जिम्मेवारी रहेको उनले बताए ।
 
विश्व बैंकले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रम मार्फत कोभिड १९ ले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असर कम गर्न तथा रोजगारीका अवसर सिर्जना गर्ने उनको भनाई छ ।
 
यसका लागि तीन वटै राष्ट्रका सरकार, विकास साझेदार, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक रहेको उनको प्रतिवद्धता छ ।
 
विश्व बैंकले मल्दिभ्स, नेपाल र श्रीलंकाका सरकारलाई कुल ३५ करोड डलरभन्दा बढिको कोभिड १९ आपतकालीन प्रतिकार्य परियोजना अन्तर्गत सहयोग गरिरहेको बताएको छ ।
 
यो सहयोगले यी राष्ट्रमा महामारी रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाइ सुदृढ गर्न मद्दत गर्ने बैंकको भनाइ छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय