इटलीमा स्थिति झन् भयावह, एकै दिन गयो ७९३ को ज्यान

कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख नाघ्यो र मृतकको संख्या १३ हजार

इटलीमा स्थिति झन् भयावह, एकै दिन गयो ७९३ को ज्यान
काठमाडौं । चीनपछिको कोरोनाको इपिसेन्टर इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।
 
वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १ हजार ५६४ ले बढी हो ।
 
इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ । यीमध्ये २ हजार ८ सय ५७ को अवस्था गम्भीर रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
 
लोम्बार्डीमा थप कडाइ
 
इटलीको लोम्बार्डी कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ अहिलेसम्म ३ हजार ९५ मानिसको ज्यान गइसकेको छ । स्थिति भयावह बनेपछि इटली सरकारले त्यहाँ थप कडाइका उपायहरू अघि सारेको छ ।
 
शनिबार अबेर राति जारी गरिएको नयाँ नियमानुसार, सबै किसिमका खेल तथा शारीरिक गतिविधिमा रोक लगाइएको छ । भेन्डिङ मेसिनको प्रयोगमा पनि निषेध गरिएको छ ।
 
कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लोम्बार्डीमा लगाइएको प्रतिबन्ध कडा र पर्याप्त नहुँदा स्थिति भयावह बनेको बताएको छ ।
 
कोरोना संक्रमित हुनेको संख्या ३ लाखभन्दा बढि
 
कोरोनाका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । त्यस्तै, मृत्यु हुनेको संसार १३ हजार ३२ पुगेको छ ।
 
चीन, इटली र त्यसपछि स्पेनमा सर्वा्धिक धेरै संक्रमित देखिएका छन् । सर्वा्धिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ ।
इटलीमा शनिबारसम्म ५३ हजार ५ सय ७८ मा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय २ जनाले ज्यान गुमाइसकेका छन् । बेलयातमा पनि यसबाट संक्रमित हुनेको संख्या ५ हजार १८ पुगेको छ भने २ सय ३३ जनाले ज्यान गुमाइसकेका छन् ।
 
कोरोनाको बढ्दो महामारीसँगै विश्व अर्थतन्त्र धरासायी हुने जोखिम विज्ञहरुले औल्याएका छन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय