शेयर बजार बन्द गर्ने विषयमा नेपाल धितोपत्र बोर्डले नेप्सेको राय माग्यो

शेयर बजार बन्द गर्ने विषयमा नेपाल धितोपत्र बोर्डले नेप्सेको राय माग्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबार बन्द गर्ने वा नगर्ने विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को राय माग गरेको छ । बिहीवार सरोकारवालाहरूसँग गरेको छलफलको आधारमा उसले नेप्सेसँग राय माग गर्दै पत्र पठाएको बोर्डका एक उच्च अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोरोनाको त्रास फैलिएको र लगानीकर्ताको स्वास्थ्य स्थितिको अवस्थालाई ध्यानमा राख्दै नेप्से सँग राय माग गरिएको हो । बोर्डसँग बजार बन्द गर्ने अधिकार भएपनी बजार सञ्चालकको राय अनुसार उसले प्रकृया अघि बढाउन लागेको हो । बोर्डले बिहीबार बिहानैदेखि कारोबार गर्ने या नगर्ने भन्ने विषयमा सरोकार बालाहरूसँग छलफल गरिरहेको छ । लगानीकर्ताहरूले बजार बन्दै गर्नु पर्ने माग दोहोर्‍याएका कारण बोर्डले नेप्सेसँग राय माग गरेको हो । बोर्ड अध्यक्षले अर्थ मन्त्रालयलाई समेत यस विषयमा जानकारी गराएका छन् । उनले मन्त्रालयको सहयोग खोजिरहेका छन् । मन्त्रालयले ग्रिन सिग्नल दिएसँगै निर्णय गर्ने बोर्डको योजना छ।

यता नेप्सेले प्राप्त पत्रको बारेका शुक्रवार छलफल गरी जवाफ दिने नेप्से स्रोतले बतायो । स्रोतका अनुसार नेप्से भरसक अफलाइन कारोबार (ब्रोकर कार्यालयबाट हुने कारोबार)मात्रै बन्द गर्ने मनस्थितिमा छ । किनकि अनलाइन कारोबार गर्नेले ब्रोकर कार्यालय जानु पर्दैन । भुक्तानी समेत कनेक्ट आइपिएस मार्फत अनलाइनबाटै गर्न सकिने भएकोले नेप्सेले यही निष्कर्ष दिनसक्ने संभावना छ । तर बोर्डले  कारोबार बन्दै गर्ने निर्देशन दिए उसले साेही अनुरूप बन्द गर्ने स्रोतको भनाई छ ।

नेप्से फिलिपिन्सको भन्दा अमेरिकी मोडल उपयुक्त हुने मान्यतामा छ । तत्कालको अवस्था हेर्दा अमेरिकी मोडल ठीक छ । तर स्थिति खराब हुँदै गए फिलिपिनी मोडलमा जानु उपयुक्त हुने नेप्सेको तर्क छ ।

कोरोना त्रासका कारण फिलिपिन्सस्थित स्टक एक्सचेन्जले सोमबारदेखि शेयर कारोबार पुरै बन्द गरिदिएको छ । यता बिहीबार देखि अमेरिकी स्थित न्यु योर्क स्टक एक्सचेन्जले अफलाइन कारोबार बन्द गर्ने निर्णय गरेको छ । न्यु योर्क स्टक एक्सचेन्जमा नेपालकै जस्तो कारोबार हुने गर्छ । करिब ४० प्रतिशत लगानीकर्ता एक्सचेन्ज मार्फत कारोबार गर्छन् भने ६० प्रतिशत लगानीकर्ताले अनलाइन माफर्त कारोबार गर्ने गरेर्का छन् ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पनि ६० प्रतिशत कारोबार अनलाइन मार्फत हुने गरेको नेप्सेको दाबी छ । 

  

 

 

No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय