बीरेन्द्र अस्पताल छाउनीमा मृगौलाको हेमोडाईलासिस सेवा शुरू

बीरेन्द्र अस्पताल छाउनीमा मृगौलाको हेमोडाईलासिस सेवा शुरू
काठमाडौं । महानगर र नेपाली सेनाको सहकार्यमा बीरेन्द्र अस्पताल छाउनीबाट मृगौला रोगीको हेमोडाईलासिस सेवा शुरु भएको छ । 
महानगरको वडा १५ निवासी ६४ बर्षिया चन्द्रदेवी महर्जनको डाइलासिस गर्ने क्रममा उपकरण सञ्चालन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सेवाको शुभारम्भ गरेका छन् । यस क्रममा मेयर शाक्यले डाइलोसिस गराइरहेकी  महर्जन सँग उनको स्वास्थ्य र पारिवारिक अवस्थाका बारेमा जानकारी लिएका थिए । 
 
यस प्रकारको सेवा सञ्चालन गर्न गएको पुष २ गते नेपाली सेना र महानगरबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले नेपाली सेनालाई तीन करोड रुपैयाँ उपलब्ध गराउनेछ । 
 
सेवा शुरु भएपछि महानगरले अबलम्बन गरेको जनस्वास्थ्य नीति तथा योजनाका बिषयमा कुरा गर्दै प्रमुख शाक्यले आफू उपचारात्मक पद्धतिसँगै प्रवर्धनात्मक स्वास्थ्य कार्यक्रम पनि अघि सारेको बताए । एम्बुलेन्समा चढेका बिरामीले तत्काल प्राथमिक र आकस्मिक सेवा पाउन् भनेर हामीले नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेका छौं । 
 
मेयर शाक्यले थप्दै भने—सहरी पूर्वाधार निर्माण तथा विकास व्यवस्थापन र सम्पदा संरक्षणसँगै मानवीय सेवाका काममा हामीले निरन्तर सहयोग गरिरहेका छौं । अस्पतालमा गरीब र निमुखा जनताले सरल सेवा प्राप्त गर्न सकुन् यसका लागि हामीले स्वास्थ्य सेवा सञ्चालन गरिरहेका अस्पतालहरुसँग सहकार्य गरेका हौं, मेयर शाक्यको भनाइ थियो ।    
 
सम्झौताबमोजिम मृगौला बिरामीहरुका लागि हेमोडाईलासिस सेवासँगै बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ।पि।डि। सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ । थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको शिफारिस प्राप्त गरेका सेरा नेगेटिभका बिरामीहरुलाई अस्पतालबाट हेमोडाईलासिस सेवा उपलब्ध हुनेछ । 
 
थप उपकरण र जनशक्ति नथपुञ्जेल अहिलेका लागि अस्पतालमा भएकै श्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिइनेछ । त्यसलाई बृद्धि गर्दै भौतिक पूर्वाधार लगायतका श्रोत साधन थपेपछि सेवा विस्तार गर्दै लगिनेछ ।
 
महानगरले सहरी स्वास्थ्य क्षेत्रको प्रबर्धनका लागि अनय स्वास्थ्य संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ । रगतमा भएका तत्व छुट््याउनको प्रणाली जडान गर्न कान्ति अस्पतालसँग यस अघि सम्झौता भइसकेको छ भने अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय रोग केन्द्रसँग सम्झौता हुने भएको छ । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय