६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढ्नेले मात्रै उच्च शिक्षामा छात्रवृत्ति पाउने

६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढ्नेले मात्रै उच्च शिक्षामा छात्रवृत्ति पाउने
काठमाडौं । अब कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढेकाले मात्रै उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन् । यसअघिसम्म क्षेत्रगत तथा आर्थिक स्थितिलाई समेत हेरेर छात्रवृत्ति दिइँदै आएको थियो ।
 
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही नेपाल ऐन संशोधनसहित पारित गर्दै यस्तो व्यवस्था गरेको हो । समिति सभापति जयपुरि घर्तिले समावेशी छात्रवृत्तिका नाममा विभिन्न विकृतिहरु बढेकाले यस्तो अनिवार्य व्यवस्था गरिएको बताइन् ।
 
जुन व्यक्तिले छात्रवृत्ति पाउनुपर्ने हो त्यसले नपाएको गुनासोहरु धेरै आएकाले कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा माध्यमिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने व्यवस्था गरिएको उनले बताइन् ।
 
‘पिछडिएको क्षेत्र कर्णाली भन्यो तर काठमाडौं बस्नेहरुले लिने गरेको पाइयो, गरिब भन्यौँ अरु नाम लेखेर लिने गरेको पाइयो । सरकारी भन्यो प्राइभेट पढेकालाई कागज बनाएर छात्रवृति दिने विकृति देखियो, त्यसकारण यो व्यवस्था अनिवार्य गरिएको हो’, उनले भनिन् ।
 
सभापति घर्तिले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशत सदस्यहरुले हटाउन सक्ने व्यवस्था पनि गरिएको बताइन् । समितिमा छलफलका क्रममा दुई तिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आएपनि विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको उनको भनाइ छ ।
 
समितिमा छलफलका क्रममा उच्च शिक्षा निː शुल्क गर्नुपर्ने संशोधन पनि परेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरलले तीन वटा नयाँ विधेयक आउने जानकारी गराएपछि नयाँ विधेयकमा नै छलफल गर्नेगरी उक्त विषय समावेश गरिएन । दलित, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रुपमा विपन्नलाई हरेक तहमा एकपटक छात्रवृति दिने व्यवस्था गरिएको छ । यसअघि १ पटक मात्रै दिने व्यवस्था थियो ।
 
अब उच्च शिक्षामा मातृभाषामा अध्ययन गर्ने बाटो पनि खुला भएको छ । समितिले उच्च शिक्षामा मातृभाषामा पढ्न पाउने व्यवस्था गरेको हो । उच्च शिक्षा छाता ऐनमा नयाँ ढंगले छलफल गरेर जानुपर्ने भएकाले धेरे नेपाल ऐन संशोधन नगरिएको सभापति घर्तिले बताइन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय