सिन्धुपाल्चोकमा बस दुर्घटना ː मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत (अपडेट)

सिन्धुपाल्चोकमा बस दुर्घटना ː मृत्यु हुनेको संख्या १५ पुग्यो, १४ को सनाखत (अपडेट)
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो ।
 
उक्त दुर्घटनामा १७ जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।
 
घटनामा मृत्यु हुने १४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सिन्धुपालचोक जुगल गाउँपालिका ७ का अन्दाजी २७ वर्षीय सुकबहादुर तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ र ७ वर्षीया सबिना छन् ।
 
त्यस्तै दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ, सोही नगरपालिका ९ की २८ वर्षीया मञ्जु तामाङ र ४२ वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
रामेछापको उमाकुण्ड गाउँपालिका ५ का २८ वर्षीय मेहेश तामाङ, भक्तपुर सूर्य्विनायक नगरपालिका ८ का ३२ वर्षीय चिनु बस्नेत, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती मैया खत्री रहेका छन् ।
 
त्यस्तै लिसंखुपाखर गाउँपालिका–४ की ५३ वर्षकी गङ्गामाया लामा र १५ महिनाकी रोशनी तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको दुर्घटनामा परी मृत्यु भएको छ ।
 
एक जनाको सनाखत हुन बाँकी रहेको इन्स्पेक्टर खनालले जानकारी दिए । ’४∕५ जनाको अवस्था अझै गम्भीर रहेको छ’, इन्स्पेक्टर खनालले भने,’मृतकको संख्या बढ्न सक्छ, भन्न सकिन्न ।’
 
सिन्दु सदाबहार अस्पतालमा एक जना, धुलिखेल अस्पतालमा दुई जना, हेम्स अस्पतालमा १३, काठमाडौं मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ ।
 
सहचालक विप्लव तामाङ घाइते छन् भने चालकको अवस्थाबारे भने थाहा नभएको उनले जानकारी दिए ।
 
‘सहचालकका अनुसार टायरको हावा कम भएर दुर्घटना भएको हो’, सहचालकको भनाइलाई उद्धृत गर्दै उनले भने ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय