सीको भ्रमणमा नेपालका प्रमुख एजेण्डा ː रेल, सुरुङ र ट्रान्समिसन लाइन

सीको भ्रमणमा नेपालका प्रमुख एजेण्डा ː रेल, सुरुङ र ट्रान्समिसन लाइन
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा नेपालले रेल, सुरुङ र ट्रान्समिसन लाइनलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
 
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी २५ असोजमा काठमाडौं आउनेछन् । दुई देशका राष्ट्रपतिबीच त्यही दिन भेटवार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रतिनिधि मण्डलसहित वार्ता हुनेछ । लगत्तै दुई देशबीच विभिन्न सम्झौता तथा समझदारीहरुमा हस्ताक्षर गर्ने तयारी छ ।
 
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाका अनुसार चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा उठाउने विषय र सहमतिबारे नेपालको तयारी पूरा भएको छ । उनका अनुसार नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई पहिलो प्राथमिकतामा राखेको छ ।
 
सरकारी स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्गबारे नयाँ घोषणा हुन सक्छ । सम्भवतः चिनियाँ लगानीमा रेलमार्गको सम्भाव्यता अध्ययनको घोषणा गर्ने तयारी छ । यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पनि चीनले नै गरेको थियो, जसले रेलमार्ग निर्माण गर्न सकिने तर जटिल भौगोलिक क्षेत्र रहेकाले निकै कठिन रहेको देखाएको छ ।
 
काठमाडौं–केरुङ रेलमार्गबारे लगानीको मोडालिटीबारे सहमति जुट्न सकेको छैन । नेपालले चिनियाँ अनुदानमै बनोस् भन्ने चाहेको छ भने चीनले नेपालले पनि लगानी गरोस् भनेको छ ।
 
सडक सञ्जाल अन्तरगत अरनिको राजमार्गको स्तरोन्नती र रसुवागढी–छहरे–काठमाडौं टनेल एजेण्डामा छन् । नेपाललाई चीनसँग जोड्ने अरनिको राजमार्ग महाभूकम्प ०७२ ले क्षतिग्रस्त भएको थियो । यसलाई दुई लेनमा स्तरोन्नती गर्ने सहमतिमा हस्ताक्षर गर्ने तयारी छ ।
 
रसुवागढी–छहरे–काठमाडौं टनेलको भने प्रारम्भिक अध्ययन भइसकेको छ । निर्माणका लागि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन् । यो सडक बनेमा काठमाडौंबाट चिनियाँ सीमा क्षेत्र केरुङ एक घन्टा आसपासको दुरीमा समेटिने छ ।
यस्तै, चीनसँग जोड्ने सीमा सडकहरु किमाथाङ्का र कोरला उत्तर–दक्षिण कोरिडर पनि एजेण्डामा परेका छन् ।
 
त्यसैगरी जलविद्यतुमा चिनियाँ लगानीसँगै क्रस बोर्डर ट्रान्समिसन लाइन पनि नेपालको एजेण्डा सूचीमा छ । उच्च क्षमताको गल्छी–केरुङ अन्तरदेशीय प्रसारण लाइन बनाउन दुई देशका अधिकारीहरु लामो समयदेखि छलफलमा थिए । सीको भ्रमणका क्रममा यसको लगानी जुटाउने, डीपीआर गर्ने र जीटूजी (गभर्नमेन्ट–टू गभर्नमेन्ट) मोडलमा निर्माणको प्रस्ताव गर्ने नेपालको तयारी छ ।
 
त्यस्तै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई सहयोग गर्नेबारे समझदारी हुनेछ । मनवानपुरमा बनाइने यो विश्वविद्यालयका लागि चीनले सहयोग गर्ने तयारी छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय