धुलो दूध आयातको प्रतिवन्ध हटाउन सकिदैन ː कृषिमन्त्री खनाल

धुलो दूध आयातको प्रतिवन्ध हटाउन सकिदैन ː कृषिमन्त्री खनाल
काठमाडौं । सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने बताएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको बताएका छन् । उनले धुलो दुधको आयातमा लगाइएको प्रतिबन्ध नहटाइने पनि स्पष्ट पारे ।
 
गाउँमा दूध पर्याप्त रहेको बताउदै उनले त्यसलाई शहरसम्म ल्याइ पुर्याउने विधि खोज्न आग्रह गरे । गाडी नपुगेका ठाउँमा गाडी लैजाऔँ उनले भने । बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको बताउदै उनले केही समयलाई दूध अपुग भए आन्तरिक रुपमै व्यवस्थापन गर्न ध्यान केन्द्रित गरिने बताए । छलफलमा निजी डेरी उद्योगीले पाउडर दूध आयातमा लगाइएको प्रतिबन्ध हटाइदिन आग्रह गरेका थिए । भदौ, असोज र कात्तिकमा नेपालीका ठूला चाडबाड पर्ने तथा दूध उत्पादन कम हुने भन्दै उनीहरुले एक पटकका लागि कम्तीमा तीन महिना आयातमा लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेका थिए ।
 
निजी डेरीले भारतलगायत तेस्रो मुलुकबाट धुलो दूध आयात गर्दै आएका छन्। कम्तीमा पाँच हजार मेट्रिक टनका लागि भए पनि एक पटक मात्र अनुज्ञापत्र जारी गरिदिनुस्”, नेपाल डेरी एशोसियशनका अध्यक्ष राधाकृष्ण सापकोटाले भने । अन्य व्यवसायीले भने तीन महिनाका लागि खोल्दा दुई वर्षलाई पुग्ने गरी धुलो दूध मौज्दात राख्ने भएकाले कुनै पनि हालतमा आयात खुला गर्न नहुने बताएका थिए ।
 
केन्द्रीय दुग्ध सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने, “दूध पर्याप्त उत्पादन भएको छ। यति हुँदाहुँदै पनि दूध नपुग्नुको कारण के हो त्यो खोजिनुपर्छ।” केन्द्रीय दुग्ध सहकारी संस्थाका महासचिव रामकृष्ण आचार्यले किसानको दूध किन्नुभन्दा पाउडर बेच्न सस्तो र सजिलो हुने भएकाले पाउडर आयात गर्न खोजिएको आरोप लगाए । “आयात खुला उपयुक्त विकल्प होइन । तीन महिनालाई खोल्दा दुई वर्षलाई पुग्ने पाउडर भित्रन्छ”, उनले भने ।
 
मन्त्रालयका सचिव प्रकाश माथेमाले केही समयका लागि देखिएको अभावको समाधान देशभित्रै खोजिनुपर्ने बताए । उनले भने, “सामान्य अभाव भएर वा अभाव सिर्जना गराएर पाउडर दूध आयात गर्नु समस्याको समाधान होइन।” सहसचिव डा विमलकुमार निर्मालले अहिले दूधको उत्पादन पर्याप्त भए पनि किसानबाट भन्दा भारतबाट पाउडर ल्याउँदा सहज हुने भएर व्यवसायीले आयात खोल्नुपर्छ भन्दै हिँडेको बताए ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय