जम्मू कश्मीरलाई विशेष दर्जाबाट हटाएपछि पाकिस्तानले गर्यो भारतसँगको व्यापार स्थगन, हवाई रुट बन्द

जम्मू कश्मीरलाई विशेष दर्जाबाट हटाएपछि पाकिस्तानले गर्यो भारतसँगको व्यापार स्थगन, हवाई रुट बन्द
इस्लामाबाद । जम्मू कश्मीरलाई विशेष दर्ताबाट हटाएपछि पाकिस्तानले बुधबार आफ्नो देशमा रहेका भारतीय उच्च अधिकारीलाई निकाला गर्ने र भारतसँगको दुई देशीय व्यापार स्थगन गर्ने घोषणा गरेको छ ।
 
जम्मू कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले बुधबार यो घोषणा गरेको एएफपीले जनाएको छ। “हामीले हाम्रा राजदूतलाई दिल्लीबाट स्वदेश फिर्ता गर्ने छौँ भने उनीहरूका प्रतिनिधि पनि फिर्ता पठाउने छौँ,” पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद क्वुरेशीले भने।उनले भारतसँगको पाकिस्तानको कूटनीतिक सम्बन्धको स्तरलाई न्यूनीकरण गरिएको पनि बताए। भारतको पछिल्लो निर्णयका विरुद्धमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि पाकिस्तानले आवाज उठाउने उनको भनाइ छ।
 
जम्मू कश्मीरलाई दिइएको विशेष अधिकारलाई केन्द्र सरकारले फिर्ता लिएको विषयलाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् बढ्दै गएको छ। भारतको निर्णयले अन्तर्राष्ट्रिय कानून तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको पाकिस्तान पक्षको तर्क छ। हिमाली क्षेत्र कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै केही भागमा दुई देशले शासन गर्दै आएका छन्। भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेकाले तीन दशकमा हजारौँको मृत्यु भएको र गरिबी झनै बढ्दै गएको भारतको दाबी छ।
 
गरिबी बढेको, विकास रोकिएको र द्वन्द्व अन्त्य हुन नसकेकाले केन्द्र सरकारले जिम्मेबारी लिनु परेको केन्द्रीय मन्त्रीहरूको भनाइ छ।पाकिस्तानले एउटा हवाई रुट समेत बन्द गरिदिएको छ। पिटिआईका अनुसार हवाई रुट बन्द गर्दा भारतले विभिन्न मुलुकमा गर्ने उडान अवधि १२ मिनेट बढी लाग्नेछ।
 
पाकिस्तानी हवाई क्षेत्रबाट एयर इन्डियाको मात्रै ५० भन्दा बढी उडान अमेरिका,यूरोप र खाडी मुलुकमा हुने गर्छ।यसअघि पनि बालाकोटमा भएको एयरस्ट्राइकमा पाकिस्तानले २० दिन हवाई मार्ग बन्द गरिदिएको थियो । पाकिस्तानले हवाई रुट बन्द गर्दा त्यसको प्रभाव नेपाल आउने विमानलाई पनि पर्न सक्छ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय