सिद्धार्थ ग्रुपले भैरहवामा पाँच तारे होटल खोल्दै, दुई वर्षभित्र संचालनमा आउने

सिद्धार्थ ग्रुपले भैरहवामा पाँच तारे होटल खोल्दै, दुई वर्षभित्र संचालनमा आउने
काठमाडौं । कटेज रेष्टुरेन्ट, तीन तारे र चार तारे स्तरको होटलको संजाल संचालन गरिरहेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले पाँच तारे लक्जरी होटल पनि संचालनमा ल्याउने भएको छ ।
 
 यो समूहले भैरहवामा आगामी दुई वर्षभित्र सेवा शुरु गर्ने योजनाको साथ सिद्धार्थ इन्टरनेशनल होटलको निर्माण कार्य शुरु गरेको छ । करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको होटल परिसरभित्र ८ तल्ले होटल भवन निर्माण गरिन लागेको छ । होटलमा ८५ भन्दा बढी कोठा रहने समूहका क्षेत्रिय प्रबन्धक महेन्द्र न्यौपानेले जानकारी दिए ।
 
बुटवलमा कटेज रेष्टुरेन्ट र तीन तारे स्तरको होटल संचालन गरिरहेको सिद्धार्थ बिजनेशले लुम्बिनी घुमघाम गर्न आउने पर्यटक र व्यापारिक वर्गलाई लक्षित गर्दै पाँच तारे होटल निर्माण गर्न लागेको हो ।
 
यो व्यवसायिक समूहले आफ्नै लगानीमा चारवटा तारे होटल, तीन रिसोर्ट र पाँचवटा कटेज संचालन गरिरहेको छ । यो समूहको होटल, रिसोर्ट र कटेज काठमाडौं, ललितपुर, तुम्लिङटार, बुटवल, नेपालगन्ज, सुर्खेत, चीसापानी (कर्णाली) मा संचालनमा छन् ।
 
धनगढीमा स्थानीय होटल आनन्दको व्यवस्थापन गत महिनादेखि लिएर उपस्थिति जनाएको छ । तुम्लिङटार, सुर्खेत र चिसापानीमा रिसोर्ट, नेपालगंज, बुटवल र काठमाडौंमा होटल र कटेज रेष्टुरेन्ट संचालनमा छन्।लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल निकट भविष्यमै संचालनमा ल्याउने तयारी भइरहेकोले विदेशी पर्यटकको आगमन बाक्लिने आशामा भैरहवा(लुम्बिनी क्षेत्रमा पाँच तारे होटलमा लगानी ओइरिएको छ ।
 
भारतीय पर्यटकलाई लक्षित गर्दै हङकङको सिल्भर हेरिटेज समूहले पहिलो पाँचतारे होटल टाइगर प्यालेस र पवन हलुवाईले पवन प्यालेस होटल संचालनमा रहेको छ । निर्माण सामग्री र खाद्यान्न उत्पादनमा संलग्न बुटवलको एसआर समूहले पनि पाँच तारे होटलमा लगानी गर्ने घोषणा गरेको छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय