साझेदारीमा व्यवसाय शुरू गर्नुअघि यी कुरामा विचार पुर्याऔं

साझेदारीमा व्यवसाय शुरू गर्नुअघि यी कुरामा विचार पुर्याऔं
कुनै पनि व्यवसाय साझेदारीमा शुरू गर्दा आर्थिक भार तथा जोखीम कम बेहोर्नुपर्छ । जाखीम कम गरेजस्तै साझेदारी व्यवसायमा मुनाफा पनि बाँडफाँट गनुपर्छ । त्यसैले, समग्रमा बढी कमाइ देखिए पनि बाँडफाँट गर्दा आफ्नो भागमा कम आम्दानी पर्न सक्छ । साझेदारीमा व्यवसाय शुरू गर्नुअघि यसका विविध पक्षबारे भने जानकारी हुनु आवश्यक छ । त्यसमध्ये पनि ध्यान दिनुपर्ने प्रमुख पाँच विषय यस्ता छन् ː
 
साझेदारको छनोट 
                                                       
यो पहिलो, तर महत्वपूर्ण चरण हो । कुनै पनि साझेदार साथी वा पारिवारिक सदस्य भएकै कारण छनोट नगर्नुहोस् । साथी वा पारिवारिक सदस्यलाई छनोट गर्दा बढी जोखीम हुन्छ । विवाद भइहालेमा व्यावसायिक सहकर्मी मात्र गुम्दैन, त्योभन्दा पनि महत्वपूर्ण नजिकको सम्बन्ध बिग्रन्छ । पार्टनरशिप साझा उद्देश्य, धारणा, व्यावसायिक शीप र एकअर्काको परिपूरकका रूपमा आधारित हुनुपर्छ । योभन्दा पनि महत्वपूर्ण विषय त पार्टनरबीच आफ्नो क्षमताअनुसार व्यावसायिक दायित्वलाई पनि विभाजन गर्नुपर्छ । त्यस्तै, स्रोत, विज्ञता र नाफाको पनि उचित वितरण हुनुपर्छ । यस्ता विषयलाई शुरुआतमै स्पष्ट पार्नुपर्छ । व्यवसायको थालनीमै स्पष्ट भएपछि कामकारबाहीमा कुनै किसिमको झगडा, इगो वा समस्या देखापर्ने सम्भावना कम हुन्छ ।
 
लिखित सहमति      
 
तपाईं र तपाईंको साझेदारबीच सुमधुर सम्बन्ध हुन सक्छ । तर पनि व्यापारसम्बन्धी लिखित सहमति हुनु राम्रो हुन्छ । यसले व्यावसायिक सम्बन्धलाई पनि स्पष्ट पार्छ । वकिल र लेखापालको सहयोगमा यस्तो लिखित सहमति गर्न सकिन्छ । व्यवसाय वा व्यापारको ‘भोल्युम’ वृद्धि हँुदै जाँदा पार्टनरबीच भएको लिखित सहमतिले सजिलो बनाउँछ । किनकि, त्यस्तो सहमतिमा सबै कुराको विस्तृत जानकारीका साथै पूरा गर्नुपर्ने शर्तहरू पनि उल्लेख गरिएको हुन्छ । त्यस्तो लिखित सहमतिमा पालना गर्नुपर्ने नियम र शर्त स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ । मुख्यगरी तीनओटा विषयलाई स्पष्ट पारिएको हुन्छ । तिनीहरूमा प्रत्येक पार्टनरको क्षतिपूर्ति व्यवस्था, उनीहरूको भूमिका र उत्तरदायित्व एवम् सहकार्यबाट बाहिर निस्कने रणनीति (एक्जिट स्ट्राटेजी) हुन्छन् । यीमध्ये कुनै एकका कारण विवाद वा समस्या बनेमा सहकार्यसमेत तोडिने सम्भावना भएकाले यस्तो व्यवस्था गरिएको हुन्छ ।
 
कर्जा र ऋण  
 
कुनै पनि व्यवसायमा त्यसका पार्टनरहरूले व्यक्तिगत रूपमै ऋणको जिम्मेवारी लिनुपर्छ । यसको अर्थ एउटा पार्टनरले कर्जा नतिरेमा कर्जा प्रवाहकर्ताले अर्को पार्टनरको सम्पत्ति वा सामान नियन्त्रणमा लिन सक्छ । व्यवसायमा कुनै एउटा पार्टनरले गरेको कामको जस–अपजस सबैले लिनुपर्छ । त्यसैले, पनि तपाईंले आफ्नो पार्टनर त्यसैलाई छनोट गर्नुहोस्, जसलाई पूर्ण विश्वास गर्नुहुन्छ । 
 
कर र लेखापरीक्षण
 
कुनै पनि व्यवसायको कर सयुंक्त (कम्पनीको नाममा) बुझाइन्छ । तर, पार्टनरको आयमा भने व्यक्तिगत रूपमा कर लाग्छ । त्यस्तै, कुनै पनि व्यवसायको लेखापरीक्षण अनिवार्य हुन्छ ।
 
बहिर्गमन रणनीति 
 
बीचमा कुनै एक वा दुवै पार्टनरले सहकार्य अन्त्य गर्न चाहन्छन् भने ‘के गर्ने’ भन्ने कुरा लिखित सहमतिमा स्पष्ट पार्नुपर्छ । यसका लागि व्यवसायको मूल्याङ्कन भने गर्नुपर्छ । छुट्टिँदा आइपर्ने आर्थिक परिणामको पनि जिम्मेवारी लिनुपर्छ । यस्तो बेलामा एउटा पार्टनरले अर्कोको शेयर पूर्वनिर्धारित शर्तका आधारमा खरीद गर्न सक्छ । दुवै पार्टनर सहकार्यलाई अन्त्य गर्न चाहन्छन् भने व्यवसायको मूल्याङ्कन गरी सम्पत्ति बाँडिन्छ । यस्तो बहिर्गमनले पार्टनरबीच कुनै किसिमको फाटो ल्याउन दिँदैन । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय