विकास बैंकको नाफा ७ सय प्रतिशतसम्मले बढ्यो

विकास बैंकको नाफा ७ सय प्रतिशतसम्मले बढ्यो
काठमाडौं । हालसम्म चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन ३० वटा विकास बैंक प्रकाशित गरेका छन् । जसमध्ये सबैभन्दा बढी चुक्ता पुँजी ज्योति विकास बैंकको रहेको छ । यस बैंकले हाम्रो विकास बैंकलाई खरिद गरेपछि चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ । ३ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने अर्को विकास बैंक मुक्तिनाथ विकास बैंक पनि रहेको छ । जसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
 
त्यस्तै २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने ९ वटा विकास बैंक रहेका छन्  । जसमा महालक्ष्मी, गरिमा, गण्डकी, सांग्रिला, देवः, कैलाश, ओम, कामना र लुम्बिनी विकास बैंक रहेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने ३० वटा विकास बैंकमध्ये कम चुक्ता पुँजी सहारा विकास बैंकको रहेको छ । जसको १६ करोड ३३ लाख रुपैयाँ मात्रै चुक्ता पुँजी रहेको छ । 
 
 
तेस्रो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । जसको नाफा ६० करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भन्दा ४० दशमलव ८१ प्रतिशतले वृद्धि गरेको छ । गत वर्ष सोही अवधिमा यस विकास बैंकले ४२ करोड ७५ लाख रुपैयाँ कमाएको थियो ।
 
सबैभन्दा कम नाफा कमाउने तर अघिल्लो वर्षको तुलनामा भने नाफा बढाउनेमा कर्णाली विकास बैंक रहेको छ । जसको नाफा ६६ लाख रुपैयाँ मात्र रहेको छ । गत वर्षको सोही अवधिमा यसको नाफा जम्मा ११ लाख रुपैयाँ रहेको थियो । जसले एक वर्षको तुलनामा ४५७ दशमलव २३ प्रतिशतले वृद्धि गरेको छ । 
 
अघिल्लो वर्षको सोही अवधिको तुलनामा अत्याधिक नाफा बढाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । जसले गत वर्षको सोहीअवधिको तुलनाभन्दा ७७६ दशमलव ८८ प्रतिशत नाफा बढाएर ८ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसले जम्मा ९४ लाख रुपैयाँ नाफा गरेको थियो । नाफा बढाउनेको दोस्रो स्थानमा कर्णाली विकास बैंक रहेको छ भने तेस्रो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक छ । जसले ३०२ दशमलव ५३ प्रतिशतले नाफा वृद्धि गरी १० करोड १५ लाख रुपैयाँ कमाएको छ ।
 
यस अवधिमा ३० वटा विकास बैंकमध्ये २५ वटा कम्पनीले नाफा बढाएका छन् भने ५ वटा कम्पनीले नाफा घटाएका छन् । नाफा घटाउनेमा पुर्णिमा विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट, सहयोगी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । पूर्णिमा विकासको ३ दशमलव शून्य ७ प्रतिशतले घटेर ५ करोड ६७ लाख रुपैयाँ कमाएको छ ।
 
त्यस्तै कामना सेवा विकास बैंक ७ दशमलव शून्य ३ प्रतिशतले घटेर २१ करोड २१ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ७ दशमलव ५० प्रतिशतले घटेर २३ करोड १८ लाख रुपैयाँ, सहयोगी विकास बैंकको ७ दशमलव ७६ प्रतिशतले घटेर ७ करोड ४ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको ९ दशमलव शून्य ६ प्रतिशतले घटेर २ करोड २६ लाख रुपैयाँ कमाएको छ ।
 
३० विकास बैंकमा जगेडा कोषमा सबैभन्दा बढी लुम्बिनी विकास बैंकले छुट्टाएको छ । जसले जगेडा कोषमा १ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ राखेको छ । त्यस्तै निक्षेप तथा कर्जा दुवैमा अगाडि मुक्तिनाथ विकास बैंक रहेको छ । जसले निक्षेपमा ४१ अर्ब ८० करोड ५९ लाख रुपैयाँ संकलन गरी कर्जामा ३६ अर्ब ४५ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ ।
 
त्यस्तै जगेडा कोष, निक्षेप र कर्जामा सबैभन्दा कम कर्पोरेट डेभलपमेन्ट बैंकको रहेको छ । जसको जगेडाकोषमा १ करोड ७० लाख रुपैयाँ नोक्सानमा रहेको छ । निक्षेपमा १९ करोड ४० लाख रुपैयाँ संकलन गरी कर्जामा २४ करोड ३० लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।
 
खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा सबैभन्दा बढी आर्जन गर्ने मुक्तिनाथ विकास बैंक रहेको छ । जसको खुद ब्याज आम्दानी १ अर्ब २९ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफा ९३ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ ।
 
त्यस्तै खुद ब्याज आम्दानीमा सबैभन्दा कम सहारा विकास बैंकको २ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन मुनाफामा सबैभन्दा कम सप्तकोशी डेभलपमेन्ट बैंकको ७० लाख रुपैयाँ आर्जन गरेको छ ।
 
प्रतिशेयर आम्दानीमा सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको रहेको छ । जसको प्रतिशेयर आम्दानी ३० दशमलव ४९ रुपैयाँ रहेको छ । विकास बैंकमा सबैभन्दा कम प्रतिशेयर आम्दानी कर्णाली विकास बैंकको १ दशमलव ७७ रुपैयाँ रहेको छ ।
 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय