फास्ट ट्र्याकको डीपीआर बन्यो, ३ सुरुङमार्ग र ८७ पुलको बन्ने, अब टेन्डरको तयारी

फास्ट ट्र्याकको डीपीआर बन्यो, ३ सुरुङमार्ग र ८७ पुलको बन्ने, अब टेन्डरको तयारी
काठमाडौं । काठमाडौं–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को नयाँ विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डीपीआर पहिलेको निर्धारित ७६ दशमलव २ किलोमिटर (किमी) लाई ७२ दशमलव ५ किमीमा छोट्याएर तयार पारिएको हो । कोरियाली कम्पनी सुसुङ इन्जिनीयरिङ एन्ड कन्सल्टेन्सी लिमिटेडले तयार पारेको डीपीआरले साविकको दूरी छोट्याएको हो ।
 
गत असोजमा उक्त कम्पनीलाई डीपीआर बनाउने जिम्मा नेपाली सेनाले दिएको थियो । कम्पनीले डीपीआर तयार गरी सेनालाई गत फागुनमा हस्तान्तरण गरेको थियो । त्यसबारे गत फागुन १९ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराइएको र चैत ५ मा रक्षा मन्त्रालयमा डीपीआरको नीतिगत स्वीकृतिका लागि पेश गरिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । मन्त्रालयबाट नीतिगत स्वीकृित आएपछि डीपीआर अनुसारको निर्माणका लागि टेन्डर आव्हान गरिने उनले बताए ।
 
नयाँ डीपीआर अनुसार फास्ट ट्र्याकमा तीनओटा सुरुङमार्ग र ८७ ओटा पुल निर्माण हुने भएका छन् । कुल ६ दशमलव ४१ किमीका तीन सुरुङमार्ग मकवानपुरका महादेव डाँडा ९३ दशमलव ३५ किमी, भेद्रे खोला ९१ दशमलव ६३ किमी र लेन डाँडा ९१ दशमलव ४३ किमीमा बन्ने पाण्डेले जानकारी दिए । यसअघिको डीपीआरमा फास्ट ट्र्याकमा एउटा मात्रै सुरुङमार्ग बनाउन सकिने उल्लेख थियो ।
 
नयाँ डीपीआर अनुसार फास्ट ट्रयाक प्रयोग बापत उठाइने सडक दस्तुर खोकना, बुदुने र निजगढ गरी तीन स्थानबाट संकलन गरिने भएको छ । चार लेनको फास्ट ट्र्याक सडक एशियाली ‘हाई स्ट्यान्डर्ड’को हुनेछ । सैनिक प्रवक्ता पाण्डेका अनुसार डीपीआरमा लागत मूल्यसमेत संशोधन भई केही प्रतिशत बढेको छ । यसअघि उक्त आयोजना कुल रू। १ खर्ब १२ अर्बको लागत हुने प्रारम्भिक अनुमान गरिएको थियो । सेनाले नयाँ लागत सार्वजनिक गरेको छैन ।
 
पाण्डेका अनुसार ८७ ओटा पुल निर्माण गर्न ६ ओटा निर्माण कम्पनी छनोट गरिएको छ भने डीपीआर स्वीकृत भएपछि टेन्डर आह्वान गरिनेछ । आगामी आर्थिक वर्ष २०७६∕७७ मा मात्रै सुरुङमार्ग र पुलको टेन्डर गरिने उनले जानकारी दिए । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय