नेपालको आफ्नै रेल जयनगरदेखि जनकपुरसम्म चल्ने बाटो खुल्यो

भारतीय कम्पनीसँग दुई सेट रेल किन्ने सम्झौता

नेपालको आफ्नै रेल जयनगरदेखि जनकपुरसम्म चल्ने बाटो खुल्यो
काठमाडौ । नेपालले दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार सम्झौतामा २ सेटमध्ये पहिलो सेट ३ महिनाभित्र उपलब्ध गराउने भनिएको छ ।
 
सम्झौता भइसकेपछि उक्त कम्पनीले अग्रिम बैंक ग्यारेन्टी राख्नु पर्ने हुन्छ । त्यसपछि अग्रिम भुक्तानी स्वरुप पेश्की दिनु पर्ने सचिव अधिकारीले जानकारी दिए । पेश्की दिएको मितिबाट १ सय २० दिनभित्र रेलको सेट ल्याउनुपर्ने सम्झौता भएको छ । दोस्रो सेट रेल खरिदका लागि पेश्की रकम दिएको १ सय २० दिनमा उपलब्ध गराउनु पर्ने हुन्छ ।
 
हामीले जुन दिन मोभिलाईजेशन रकम उपलब्ध गराउँछौं, उनले भने, त्यही दिनबाट उसले रेल उपलब्ध गराउनुपर्ने समयको गणना हुन्छ । भारतीय कम्पनीले रेलको सेट पठाएपछि सञ्चालनमा ल्याइने छ । यो काम छिट्टै गर्ने भनेर लागिपरेका छौं, सचिव अधिकारीले भने, सम्झौता भएको करिब १० दिन भित्रमा पहिलो सेट ल्याउने तयारी शुरु हुने छ ।
 
विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारका अनुसार जनकपुर–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट खरिदको सम्झौता भएको हो । हामीले लिन खोजेको डेमो ट्रेन सेट हो, यसलाई डिजेल इलेक्ट्रिक मल्टिपल युनिट भन्छ, उनले भने, जुन जयनगर जनकपुरका लागि हो । उनका अनुसार पहिलो सेट ३ देखि ४ महिना भित्रमा आउने छ ।
 
दोस्रो सेटका लागि भने केही समय लाग्ने छ । रेलको एक सेटमा पाँच वटा डिब्बा रहने छ । ति डिब्बामा एकपटकमा करिब १३ सय यात्रु अटाउने छन् । सरकारले रेलको सेट खरिदका लागि गत चैत्रमा विभागलाई स्विकृत दिएको थियो । मन्त्रिपरिषद्ले निर्णय गरी ८४ करोड ६५ लाख खर्चिएर खरिद गर्न सरकारले स्विकृत दिएको हो ।
 
भारतको जयनगरबाट कुर्तासम्म ३४ किलोमिटर छ । पहिलो सेट यही सञ्चालनमा आउने छ । कुर्तासम्म रेलको लिकलाई ब्रोडगेजमा स्तरोन्नती गरी सकिएको विभागले जनाएको छ । यो वर्ष कुर्तासम्म रेल सञ्चालन हुने छ । जहाँ भौतिक निर्माणको काम सकिसकेको छ । अर्को वर्ष कुर्ताबाट १७ किमि दूरीमा रहेको बिजलपुरासम्म रेल चल्ने सचिव अधिकारीले बताए ।
 
अहिले विजलपुरामा जग्गा प्राप्तिको काम सकिसकेको छ । निर्माणको काम सुरु गर्ने तयारी भएको उनले बताए । त्यस्तै विजलपुराबाट बर्दिबाससम्म १७ किमि रहेको छ । जहाँ जग्गा लिने काम भइरहेको छ । कान्तिपुर दैनिकबाट । 
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय