आज इन्टरनेटका तार काटिने, टेलिकमले पोल भाडाका लागि प्राधिकरणसँग सम्झौता गर्दै

आज इन्टरनेटका तार काटिने, टेलिकमले पोल भाडाका लागि प्राधिकरणसँग सम्झौता गर्दै
काठमाडौं । एनसेलपछि नेपाल टेलिकमले विद्युत प्राधिकरणसँग पोल प्रयोगको सम्झौंता गर्ने भएको छ । प्राधिकरणले इन्टरनेट तथा केबल टीभी अपरेटरलाई चैतसम्मको समय दिएर सम्झौंता गर्न पत्राचार गरेपनि अहिलेसम्म एनसेल र नेपाल टेलिकम मात्रै प्रधिकरणसँग सम्झौंता गर्न आएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
 
देशव्यापी सञ्जाल भएका डेढ दर्जन बढी कम्पनी भने अझैपनि प्राधिकरणको सम्पर्कमा आएका छैनन् । क्लासिक टेक र वल्र्ड लिङ्क कम्युनिकेशनले सम्पर्क गरेपनि सम्झौंताको चरणमा प्रवेश गरेका छैनन् । प्राधिकरणको देशव्यापी सञ्जाल प्रयोग गरेर इन्टरनेट सेवा प्रदायक कम्पनीले वार्षिक दुई खर्बको व्यापार गर्ने र ५० अर्ब रुपैयाँ नाफा कमाइरहेको बेला प्राधिकरणलाई भने वार्षिक २५ करोड रुपैयाँ मात्र भाडा तिर्ने गरेको घिसिङले बताए ।
 
अहिले प्राधिकरणले तारको मोटाई अनुसार प्रतिकिलोमिटरका दरले भाडा तय गरेको छ । प्राधिकरणका अनुसार २४ कोर मोटाई सम्मको भाडा एक हजार दुई सय रुपैयाँ, ४८ कोर मोटाईको भाडा एक हजार नौ सय रुपैयाँ र त्यो भन्दा मोटो तार भएमा दुई हजार सात सय रुपैयाँ प्रति किलोमिटरमा भाडा तिर्नुपर्छ ।
 
अधिकांश कम्पनीले मासिक एक किलोमिटरको भाडा एक हजार दुई सय रुपैयाँ मात्र तिर्नुपर्ने भएपनि पहिलेको भन्दा भाडा २०० प्रतिशत बढेको भन्दै बढेको भाडा नतिर्ने अडान लिएका हुन्। तर प्रधिकरणले भने पहिलेको भन्दा भाडा बढाएको नभएर घटेको दावी गरेको छ ।
 
पहिले एक पोलको भाडा गाउँमा ५० रुपैयाँ, शहरमा सय रुपैयाँ र उपत्यकामा डेढ सय रुपैयाँ तोकिएको थियो। एक किलोमिटरमा उपत्यकामा कम्तीमा ३० वटा विद्युतका पोल हुन्छन्। जस अनुसार उनीहरुको प्रतिकिलोमिटर भाडा चार हजार पाँच सय रुपैयाँ पथ्र्यो । अहिले भने एक किलोमिटरको भाडा एक हजार दुई सय रुपैयाँ मात्र पर्ने हुँदा भाडा दुई सय प्रतिशतले घटेको प्राधिकरणको दावी छ। तर इन्टरनेट सेवा प्रदायक कम्पनी भने प्राधिकरणले दुई सय प्रतिशत मूल्य बढाएको भन्दै बढेको भाडा नतिर्ने अडानमा छन् ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय