करेक्सनपछि लयमा फर्किदै शेयर बजार, नेप्से पुनː २५ सय विन्दु माथि

करेक्सनपछि लयमा फर्किदै शेयर बजार, नेप्से पुनː २५ सय विन्दु माथि
काठमाडौं । केही दिनको करेक्सनपछि पुँजी बजार सोमबार पुनː लयमा फर्किएको छ । पुँजी बजारको बुलिस गतिमा गत साता एकाएक ब्रेक लागेको थियो । निरन्तर बढ्दोक्रममा रहेको बजार विगत ५ कारोबार दिनमा १६५.४७ अंकको करेक्सन भएको थियो । सोमबार बजारले फेरि सकारात्मक गति लिएको छ । नेप्से सूचकले फेरि २५ सय विन्दु पार गरेको छ ।
 
करेक्सनपछि बजार थप बलियो बन्ने विश्वास गरिन्छ । सानाठूला करेक्सनसँगै बजार उकालो लाग्ने गरेको विगतका अनुभवहरुले देखाएका छन् । राजनीतिक पनि स्थिरतातर्फ लम्किरहेको छ । बैंकिङ प्रणालीमा अझै पनि प्रसस्त मात्रामा लगानीयोग्य रकम रहेको छ । साथै, ब्याजदरमा पनि वृद्धि नभएको हुँदा सेयर बजारका लागि अझै पनि सकारात्मक माहोल कायमै छ ।
 
सेयर बजार सूचक सोमबार ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा बन्द भएको छ । ५ अर्ब ६९ कारोड रुपैयाँ भन्दा बढीको सेयर करोबार भएको छ । कुल १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर खरिद बिक्री भएका छन् । नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै जीवन बिमा समूहमा ३५९.१७ अंकले सुधार आएको छ ।
 
यता, सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४४ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । दोस्रोमा शिखर इन्सुरेन्सको ३० करोड ७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । चन्द्रागिरी हिल्सको सेयर भाउमा सर्किट लागेर बढ्नेक्रम सोमबार पनि जारी रहेको छ । यसको भाउ ९.९०% ले बढेको छ ।
 
No comment yet. Be the first one to comment.