विश्वकै सबैभन्दा ठूलो आईपीओ जारी गर्दै ज्याक माको कम्पनी, ३४ अर्ब डलरको आईपिओ जारी गर्ने

विश्वकै सबैभन्दा ठूलो आईपीओ जारी गर्दै ज्याक माको कम्पनी, ३४ अर्ब डलरको आईपिओ जारी गर्ने
चिनियाँ अर्बपति व्यापारी तथा ई–कमर्श प्लेटफर्म अलीबाबाका संस्थापक ज्याक माको कम्पनीले विश्वको सबैभन्दा ठूलो आईपीओका साथ बजार प्रवेश गर्ने तयारी गरेको छ । 
 
ज्याक माको फाइनटेक कम्पनी आन्टले ३४ अर्ब डलरको आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्ने भएको हो । सांघाई र हङकङको सेयरमार्केटबाट आन्टले उक्त रकम उठाउने लक्ष्य राखेको छ। आन्ट कम्पनीको यो आइपिओ संसारमै अहिलेसम्मकै ठूलो आईपिओ हुने द गार्डियनले उल्लेख गरेको छ । 
 
यसअघि सरकारी स्वामित्वको साउदी अराम्को कम्पनीले गत डिसेम्बरमा रियाद स्टक एक्स्चेन्जबाट २५.६ अर्ब डलर उठाएको थियो ।आइपिओबाट उक्त रकम उठेपछि आन्टको पुँजी ३१३ अर्ब डलर पुग्ने छ । आन्टले सोमबार आइपिओका लागि रकम तोकेको हो, अर्को महिनादेखि उसको सेयरको कारोबार हुने अपेक्षा गरिएको छ । 
 
अमेरिकी सेयर बजारमा नजाने निर्णय गरेको आन्टले सांघाई र हङकङबाट  बराबर १७.२ अर्ब डलर उठाउने लक्ष्य राखेको छ ।  ज्याक माकै अर्को कम्पनी अलिबाबाले आन्ट ग्रुपमा झन्डै ३३ प्रतिशत सेयर पुर्यामउने भएको छ। त्यसका उसले ७३० मिलियन डलरको सेयर किन्ने सहमति गरेको छ ।   
 
५५ औं जन्मदिनका दिन अलिबाबाको अध्यक्षबाट राजीनामा दिएका ज्याक माले नै आन्ट ग्रुपको नेतृत्व सम्हालेका छन् । आन्ट ग्रुपमा आफ्नो सेयर ८.८ प्रतिशतमा झार्ने उनले वाचा गरेका छन् ।
 
मा चीनमा धनीको सूचीमा पहिलो नम्बरमा छन् भने संसारका धनाढ्यमध्ये उनी १७ औं नम्बरमा पर्छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मासँग ६१ अर्ब डलरको सम्पत्ति छ । 
 
आन्टले  चीनको सबैभन्दा ठूलो मोबाइल पेमेन्ट प्लेटफर्म अलिपे सञ्चालन गरिरहेको छ । योसँगै उसले अरू बैंकिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ । अलिपेका मासिक ७० करोड प्रयोगकर्ता छन् ।  
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय