सामुदायिक लघुवित्तको खुद नाफा घट्यो

सामुदायिक लघुवित्तको खुद नाफा घट्यो
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको निष्क्रिय कर्जा उल्लेख्य बढेको छ । जसले गर्दा नाफा घट्न दबाब पुगेको छ ।
 
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ११ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ५४ लाख ८३ हजार रुपैयाँ कम हो। गत आवको सोही अवधिमा लघुवित्तले ६६ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा उल्लेख्य बढेका कारण सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउनु पर्दा खुद नाफा घट्न पुगेको हो ।
 
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६७ लाख ४५ हजार रुपैयाँ बढेर २ करोड ७८ लाख ९५ हजार रुपैयाँ पुगेको छ । यद्यपि, लघुवित्तको सञ्चालन मुनाफा भने ४८ लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.८४ प्रतिशतबाट बढेर १६.८० प्रतिशत पुगेको छ । यस अनुसार लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड २६ लाख ३५ हजार रुपैयाँ छुट्याउँदा सञ्चालन मुनाफा ऋणात्मक हुन गएको हो । 
 
असोज मसान्तसम्ममा लघुवित्तले ६६ लाख १५ हजार रुपैयाँ खराब कर्जा संकलन गरेको छ । जसले गर्दा सञ्चालन मुनाफा ऋणात्मक भएपनि खुद नाफा धनात्मक देखिएको हो ।
 
आर्थिक वर्ष २०७५∕७६ को मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर वितरण गरी १३ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ७२ लाख ३१ हजार रुपैयाँ सञ्चित छ । गत आवको सोही अवधिमा लघुवित्तको जगेडा कोषमा ८ करोड ३१ लाख ३३ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा लघुवित्तको निक्षेप ३७ करोड २४ लाख रुपैयाँबाट बढेर ४५ करोड ३ लाख रुपैयाँ पुगेको छ भने कर्जा ९६ करोड ७१ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
 
लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४० पैसा कायम भएको छ । गत आवको असोज मसान्तसम्ममा लघुवित्तको यस्तो आम्दानी २६ रुपैयाँ ४१ पैसा रहेको थियो । लघुवित्तको मूल्य आम्दानी अनुपात २२८.५३ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३६ गुणा कायम भएको छ ।
 
No comment yet. Be the first one to comment.
ताजा अपडेट
लोकप्रिय